NepalFlag

वि.सं:

नेपाल संवत: ११४५ ञलाथ्व नवमी - ९

पृष्ठभूमी तथा परिचय

वि.सं. २०३३ सालमा राष्ट्रिय वन योजना लागू भएपछि वन संगठनमा हेरफेर भई वि.सं. २०३६ सालमा केही जिल्लाहरुमा स्थापित प्रधान वन कार्यालयहरु समेत खारेज गरी अधिराज्यभर ९ वटा सर्कल, ४० वटा डिभिजन र १७४ वटा रेन्जर कार्यालयहरु स्थापना भए । सोही अनुसार वि.सं. २०३४ सालमा मेची-कोशी सर्कल, विराटनगर अन्तर्गत भोजपुर र संखुवासभा जिल्ला कार्यक्षेत्र रहने गरी संखुवासभाको खाँदबारी बजारमा अरुण वन डिभिजन कार्यालय स्थापना गरियो । सो डिभिजन वन अन्तर्गत चैनपुर, खादँवारी, भोजपुर र रानीबास रेन्ज कार्यालयहरु स्थापना भए । वि.सं. २०४० सालमा विकेन्द्रीकरण प्रकृयासँग मेल खाने गरी सर्कल, डिभिजन, रेन्ज र विट कर्यालयहरु खारेज गरी पाँच विकास क्षेत्रमा ५ वटा क्षेत्रीय वन निर्देशनालय र आ.व. २०४३/४४ सम्ममा देशका ७५ वटै जिल्लामा जिल्ला वन कार्यालयहरु स्थापना भए । पूर्वाञ्चल क्षेत्रीय वन निर्देशनालय, विराटनगर अन्तर्गत भोजपुर जिल्लाको भोजपुर बजार, देउरालीमा वि.सं. २०४० सालमा जिल्ला वन कार्यालय स्थापना भयो । रेन्ज कार्यालयहरु इलाका वन कार्यालयहरुमा परिणत भए । त्यसैगरी २०५० सालमा वन विभागको संगठनमा सामान्य परिवर्तन गरी मुस्ताङ वाहेक ७४ जिल्लामा जिल्ला वन कार्यालयहरु कायमै राखी ती अन्तर्गत ९२ वटा इलाका वन कार्यालय एवं ६९८ वटा रेन्जपोष्ट रहने व्यवस्था भयो । जिल्लाको वन क्षेत्रफल र वनमा परेको चांपलाई मध्यनजर गरी देशका जिल्ला वन कार्यालयहरुलाई क देखि ङ वर्गमा विभाजन गर्दा यो जिल्लालाई ङ वर्गमा राखियो । वि.सं. २०७० सालमा रेन्जपोष्ट खारेज गरी रेन्जपोष्टको सट्टा इलाका वन कार्यालयहरु रहने गरी नयाँ संगठन कायम गरियो । मुलुक संघीय संरचनामा गईसकेपछि वि.सं. २०७५ सालमा भएको संगठनात्मक परिवर्तन अनुसार जिल्ला वन कार्यालयहरु खारेज गरी ७७ वटै जिल्लामा ८४ वटा डिभिजन वन कार्यालयहरु स्थापना गरिनुका साथै इलाका वन कार्यालयहरुको सट्टा सव डिभिजन वन कार्यालयहरु कायम गरिए । नेपाल सरकार (मन्त्रिपरिषद्) को मिति २०७५/०३/३२ को निर्णय अनुसार यस कार्यालयको नाम डिभिजन वन कार्यालय, भोजपुर रहेको छ । तदनुसार यस कार्यालयको सांगठनिक संरचना कोशी प्रदेश सरकार, पर्यटन, वन तथा वातावरण मन्त्रालय, वन निर्देशनालय मातहत रहेको छ । २ वटा नगरपालिका र ७ वटा गाउँपालिका गरी जम्मा ९ वटा स्थानिय तह भएको भोजपुर जिल्लामा यस कार्यालय अन्तर्गत ६ वटा सव डिभिजन वन कार्यालय कायम गरि वन सम्वन्धी सेवा प्रदान गर्दै आइरहेको छ ।